'मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक पर्‍यो, के गर्ने?': आयोगको कल सेन्टरमा सोधिने अरू प्रश्न कस्ता

निर्वाचन आयोगको कल सेन्टरमा कम्प्युटरअगाडि बसेका एक कर्मचारी

तस्बिर स्रोत,Pradeep Raj Onta/ECN

तस्बिरको क्याप्शन,कल सेन्टरमा आउने सबै जिज्ञासाहरूको सम्बोधन गर्ने गरिएको अधिकारीहरूले बताएका छन्
    • Author,गनी अन्सारी
    • Role,बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: 6 मिनेट

निर्वाचन आयोगले काठमाण्डूस्थित आफ्नो कल सेन्टरमा मङ्गलवार दिउँसोसम्म विभिन्न विषयमा १,८०० भन्दा बढी प्रश्न तथा जिज्ञासा सोधिएको जनाएको छ।

सर्वसाधारण मानिसले सोधेका त्यस्ता जिज्ञासा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षालगायतका विषयमा हुने गरेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी बीबीसीलाई बताए।

उनका अनुसार आयोगको कल सेन्टरमा दैनिक औसतमा ५० वटा प्रश्न, जिज्ञासा र गुनासा टिप्ने गरिएको छ।

कल सेन्टरलाई प्राप्त प्रश्न तथा जिज्ञासाका प्रकृति हेर्दा मतदाता शिक्षामा थप जोड दिनुपर्ने आवश्यकता देखिएको एक पूर्वप्रमुख निर्वाचन आयुक्तले बीबीसीसँग औँल्याए।

आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको आसन्न निर्वाचनलक्षित कल सेन्टर काठमाण्डूस्थित मुख्यालयमा माघ ५ गतेबाट सञ्चालनमा ल्याएको हो। निर्वाचन अवधिभरि उक्त कल सेन्टर सञ्चालन हुने अधिकारीहरूले बताएका छन्।

अधिकांश जिज्ञासा मतदाता नामावलीसँग सम्बन्धित

आसन्न निर्वाचनबारे कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निःशुल्क टोल फ्री नम्बर ११०२ मा सबैले फोन गर्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ।

माघ २० गते दिउँसोसम्म कुल १,८१५ वटा प्रश्न तथा जिज्ञासा प्राप्त भएको सहायक प्रवक्ता जीसीले बताए।

उनका अनुसार सर्वसाधारण मानिसहरूले कल सेन्टरमा राख्ने धेरैजसो प्रश्न एवं जिज्ञासा मतदाता नामावलीसम्बन्धी हुने गरेका पाइएको छ।

Skip धेरै पढिएको and continue reading
धेरै पढिएको

End of धेरै पढिएको

"उदाहरणका लागि, माघ १९ गते ५४ वटा जिज्ञासा टिपाइएकामा ३२ वटा मतदाता नामावलीसँग सम्बन्धित रहेको पाइयो। बाँकी पाँचवटा आचारसंहिता, एउटा चाहिँ मतदाता शिक्षासम्बन्धी र १६ वटा अन्य विषयका थिए," बीबीसी न्यूज नेपालीसँग उनले भने।

अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ वा पाइँदैन, मतदाता परिचयपत्र कहाँबाट कसरी लिन सकिन्छ, मृतक व्यक्तिको नाम मतदाता नामावलीमा रहेको सन्दर्भमा आयोगले सम्भावित दुरुपयोग कसरी रोक्छ भन्ने जस्ता प्रश्नहरू आयोगलाई सोधिएको छ।

निर्वाचन आयोगको कल सेन्टरमा काम गर्दै कर्मचारीहरू

तस्बिर स्रोत,Pradeep Raj Onta/ECN

तस्बिरको क्याप्शन,कल सेन्टर सञ्चालन गर्न निर्वाचन आयोगले छुट्टे कर्मचारी खटाइएको जनाएको छ

कल सेन्टरलाई सोधिएका केही प्रतिनिधि प्रश्न र आयोगले दिने गरेको उत्तर यहाँ प्रस्तुत गरिएको छ।

प्रश्नः निर्वाचनको दिन सार्वजनिक बिदा हुन्छ?

उत्तरः यस विषयमा निर्णय भइसकेको छैन। निर्वाचन आयोगका आधिकारिक सूचना हेर्दै गर्नुहोला।

प्रश्नः अहिले नयाँ दल दर्ता गर्न पाइन्छ कि पाइँदैन?

उत्तरः नयाँ दल दर्ता गर्न पाइन्छ, तर अहिले दर्ता भएको दलले आसन्न प्रतिनिधिसभा निर्वाचन, २०८२ मा भाग लिन भने पाइँदैन। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय पूरा भइसक्यो।

प्रश्नः मृतकहरूका नाम मतदाता नामावलीबाट हटाइएको छ कि छैन?

उत्तरः तोकिएको मितिसम्म मृत्यु भएका स्थानीय तहमा मृत्युदर्ता गराएका व्यक्तिहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ।

प्रश्नः फौजदारी अभियोग लागेर कैद भुक्तान गरेका व्यक्तिले समेत उम्मेदवारी दिएको पाइयो। यसमा आयोगले के गर्छ?

उत्तरः यस विषयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यथाशीघ्र उजुरी र गुनासो गर्नुहोला। निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्छ र कानुनअनुसार अयोग्य रहेको देखिएमा निजको उम्मेदवारी खारेज हुन्छ।

प्रश्नः मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक परेको छ। संशोधन गर्न मिल्छ कि मिल्दैन?

उत्तरः मिल्छ, तर हाल निर्वाचन घोषणा भइसकेको हुँदा हाल यो सेवा बन्द छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएपश्चात् मात्र यो सेवा फेरि सुरु हुन्छ। यसका लागि तपाईँले दुवै जनाको नागरिकताको प्रमाणपत्र र विवाहदर्ताको प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेस गर्नुपर्छ।

आयोगका अधिकारीहरूले कल सेन्टर प्रभावकारी देखिएको बताउने गरेका छन्

तस्बिर स्रोत,Getty Images

प्रश्नः मतदानको दिन सवारीसाधन चल्छ कि चल्दैन?

उत्तरः मतदानको दिन अनुमति प्राप्त गरेका बाहेक अन्य सवारीसाधन चल्दैनन्। यस विषयमा आयोगले केही थप निर्णय गरेमा पछि जानकारी पाउनुहुने छ।

प्रश्नः लोकसेवा आयोगको परीक्षा सर्छ कि सर्दैन?

उत्तरः निर्वाचन आचारसंहिताले लोकसेवा आयोगले लिने परीक्षा सञ्चालनमा रोक नलगाएको हुँदा वार्षिक कार्यतालिकाअनुसार नियमित रुपमा सञ्चालन हुने लोकसेवा आयोगका परीक्षाहरू निर्वाचनका कारणले सर्दैनन्। कर्मचारी निर्वाचनमा खटिनुपर्ने, सवारीसाधन नचल्ने र परीक्षार्थीलाई कठिनाइ हुने हुँदा मतदानको दिन र सो आसपासका परीक्षाहरू भने सञ्चालन नहुन सक्छन्। यस विषयमा लोकसेवा आयोगका सम्बन्धित सूचनाहरू समेत हेर्नुहोला।

प्रश्नः म्यादी प्रहरीमा भर्ना भएका व्यक्तिले मतदानका लागि बिदामा जान मिल्छ कि मिल्दैन?

उत्तरः यस पटकदेखि म्यादी प्रहरीलाई 'निर्वाचन प्रहरी' नामकरण गरिएको छ। निर्वाचन सुरक्षाको विशिष्ट जिम्मेवारी निर्वाह गर्न निर्वाचन प्रहरीको व्यवस्था गरिएको हो। सामान्यतया निर्वाचन प्रहरीले मतदानको दिन मतदान केन्द्र र आसपासका क्षेत्रमा सुरक्षा प्रदान गर्नुपर्ने भएकाले उक्त दिन मतदानका लागि आफ्नो मतदान केन्द्रमा जानका निम्ति बिदा उपलब्ध हुँदैन।

सम्बोधन गर्ने प्रक्रिया

कल सेन्टरको टोल फ्री नम्बरबाट प्रश्न लिएपछि कर्मचारीहरूले तुरुन्तै दिन सकिने उत्तर त्यति बेला नै र परामर्श गरेर दिनुपर्ने भए त्यो गरेर दिने गरिएको निर्वाचन आयोगले जनाएको छ।

"बारम्बार सोधिने खालका र उहाँहरूले तत्काल दिन सक्ने जबाफ तुरुन्तै दिनुहुन्छ। नभए आयोगका सम्बन्धित शाखा, महाशाखाका कर्मचारीसँग जानकारी लिएर पछि कल ब्याक गर्नुहुन्छ," सहायक प्रवक्ता जीसीले भने।

कतिपय प्रश्नको उत्तर माथिल्लो तहमा छलफल गरेर दिने गरेको पनि उनले बताए।

सर्वसाधारण मानिसका जिज्ञासा तथा प्रश्नहरू कल सेन्टरमा पुग्न थालेपछि आयोगलाई सीधै प्रश्न सोधिने क्रम रोकिएको जीसीले बताए।

"त्यो भएर अरू कर्मचारीहरूलाई आआफ्नो काम गर्न थप सजिलो भएको छ," उनले भने।

यद्यपि आयोगस्थित अधिकारीहरूका अनुसार कतिपय टेलिफोनकर्ताबाट असम्बन्धित प्रश्नहरू पनि आउने गर्छन्।

प्रश्नले उब्जाएको प्रश्न

कल सेन्टरमा सोधिने गरेका धेरै प्रश्नहरू सामान्य प्रकृतिकै देखिएको जानकारहरू बताउँछन्।

"यसले मतदाता शिक्षा अझै पर्याप्त भएन देखाउँछ," भूतपूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।

"जेनरेशन ग्याप [पुस्तान्तर] देखियो। पुराना भोटरहरूलाई थाहा छ। नयाँ पुस्ताका मतदातालाई चुनावसम्बन्धी धेरै कुरा थाहा भएन।"

विगतका चुनावमा सहरी क्षेत्रमै बदर भएका मतको प्रतिशतलाई लिएर प्रश्न उठ्दै आएका छन्।

मतदाता शिक्षामा राज्यले थप बल पुर्‍याउन आवश्यक रहेको उनको तर्क छ। "निर्वाचनका विविध पक्षबारे राज्यको तर्फबाट पर्याप्त अभियान चलाइएको देख्दिनँ म," श्रेष्ठले भने।

मतदाता शिक्षाको क्षेत्रमा राज्यका विभिन्न संयन्त्रदेखि सञ्चारमाध्यमहरूको व्यापक परिचालन गर्नुपर्नेमा उनको जोड छ।

कल सेन्टरकै सन्दर्भमा पर्याप्त जनशक्ति र स्रोतसाधन नभएको पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठको ठम्याइ छ।

"कम्तीमा ५०/६० वटा कम्प्युटर र जनशक्ति राखेर कल सेन्टर सञ्चालन गर्नुपर्छ। देखाउनका लागि मात्र गर्नुभएन," उनले अगाडि थपे।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहने आयोगको कल सेन्टरमा छवटा काउन्टर छन् भने १० जना कार्यरत रहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्नयहाँक्लिक गर्नुहोस्। तपाईँफेसबुक,इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।